आठ वर्षकी थिएँ, २२ दिनकी सुत्केरी आमासँग सारंगी रेट्दै डुलेँ
Loading...
आमाले व्रतलाई सारंगी बोकाएर हिँड्न थालिन् । ब्रत भन्छिन्, ‘गर्भवती आमालाई छाडेर गएका बुवा महिनौँ फर्कनुभएन । २२ दिनकी सुत्केरी आमा मलाई सारंगी भिराएर हिँड्न थाल्नुभयो । ती दिन साह्रै पीडादायी थिए । घरमा केही खाने कुरा थिएन ।’
ध्रुवसत्य परियार
‘त्यो अर्कै संसार थियो । म आठ वर्षकी थिएँ । झोलामा सारंगी बोक्थेँ । कोसी वारिपारि जानिनजानी सारंगी रेट्दै डुल्थेँ । आमाले थुन्से बोक्नुहुन्थ्यो । थुन्सेमा खाना पकाउने भाँडा, ओढ्ने कपडा हुन्थ्यो र काखमा कान्छी दूधेबहिनी बोक्नुहुन्थ्यो,’ ब्रतले बालपन सम्झिइन्, ‘बिहानभरि घरघर डुलेर अन्न–पैसा बटुल्थ्यौँ । अनि, दिउँसो कतै पानी भएको वनमा पकाएर खान्थ्यौँ । मेरो झोला, आमाको थुन्से अन्नले भरिन हप्ता दिनजति लाग्थ्यो । भरिएपछि हामी घर फर्कन्थ्यौँ । घरमा साना भाइबहिनीहरू हुन्थे ।’त्यो सानी केटी— ब्रत गन्धर्व, कोसी सेरोफेरोमा सारंगी बोकेर डुल्थिन् । जो आज सारंगी सिकाउने गुरु भएकी छिन् । ब्रतको जन्म जरायोटार पाल्पाले– ४ भोजपुरमा भयो, ०४३ मा । घरको उब्जनीले पुग्दैथ्यो । बाबुले सारंगी रेट्दै डुल्दा दिएको अन्नदामले घर चल्थ्यो ।
सारंगी रेट्दै डुल्ने उनको पुख्र्यौली पेसा हो । भनिन्छ, गन्धर्वहरू हाम्रो समाजका सुरुवाती सञ्चारकर्मी हुन् । जतिबेला पत्रपत्रिका, रेडियो, टेलिभिजन थिएन, उनीहरू देशको एउटा गाउँको घटनालाई गीत बनाएर गाउँगाउँ गाउँदै हिँड्थे । यसबापत मनकारी मानिसले केही अन्न–दाम दिन्थे ।
सारंगी रेट्दै डुलेका ब्रतका बाबु महिनौँ फर्केनन्
ब्रतका बाबु पनि सारंगी बजाएर डुल्थे । एकपटक सारंगी बोकेर कमाउन गएका ब्रतका बाबु महिनौँ घर फर्केनन् । जो सधैँ दुई–तीन महिनामा घर फर्कन्थे, गाएर कमाएको अन्न र पैसा छाडेर फेरि जान्थे । यसपालि चार महिना बित्यो, ६ महिना बित्यो, तर फर्केनन् । यता, ब्रतकी आमाको गर्भमा आठौँ सन्तान थियो । घरमा कान्छी बहिनी जन्मिइन्, तर ब्रतका बाबु फर्केनन् ।
६ छोरी र दुई छोरामध्ये, जेठीको बिहे भइसकेको थियो । साहिँली बाबुसँगै गएकी थिइन् । ब्रतकी आमाको काँधमा आयो— दूधेबालकसहित ६ छोराछोरी हुर्काउने जिम्मेवारी ।
०००
के गरेर छोराछोरीलाई पाल्ने त ? व्रतकी आमाले पुख्र्यौली उपाय सोचिन्— कतैबाट एउटा सारंगी ल्याउने र काहिँली छोरी ब्रतलाई बोकाएर गाउँगाउँ डुल्ने । तर, आमाछोरी दुवैलाई सारंगी बजाउन र गाउन आउँदैनथ्यो । गाउँमा ८–१० घर गन्धर्व थिए, प्रत्येक घरका पुरुषहरू सारंगी बजाएर हिँड्थे, मानिसहरूले दिएको दक्षिणाले घर चलाउँथे । व्रतकी आमाले ती पुरुषहरूलाई भनिन्, ‘हामीलाई पनि केही दिन सँगै लिएर हिँड, मेरी छोरीले सारंगी बजाउन सिक्छे ।’
तर, जहाँ दुःख हुन्छ, त्यहाँ दिल भएन भने झनै दुःख हुन्छ । गाउँका केटाहरूले दिल देखाएनन् । किनभने, सँगै हिँड्दा उठेको अन्न–पैसा बाँड्नुपथ्र्यो ।
आमाले व्रतलाई सारंगी बोकाएर हिँड्न थालिन् । ब्रत भन्छिन्, ‘२२ दिनकी सुत्केरी आमा मलाई सारंगी भिराएर हिँड्न थाल्नुभयो । ती दिन साह्रै पीडादायी थिए । घरमा केही खाने कुरा थिएन ।’
व्रतलाई सारंगी बजाउन आउँदैनथ्यो । कुनै घरमा पुगेपछि सारंगी रेटेजस्तो गर्थिन् । रगतमै सारंगीको धुन भएकाले उनलाई जथाभावी रेटेर संगीत निकाल्न त आउँथ्यो, भलै त्यो कुनै सुर र तालमा नहोस् ।
कुनै गाउँ हुँदैनथ्यो, कुनै सिपालु गन्धर्वले नटेकेको । त्यसैले कति गाउँलेले चाल पाइहाल्थे, ब्रतले सारंगी रेट्न नदोहोरेको । र, भन्थे, ‘यस्तो नजान्ने बच्चालाई पनि किन लिएर हिँडेको होला ? बाउ, दाजुभाइ छैनन् कि क्या हो ?’
कोही नबोल्दासम्म त ब्रतले सारंगी रेट्थिन्, जब कसैले उनले बजाउन नजानेको कुरा गथ्र्यो, उनी त्यसै डराउँथिन् ।
उनी डराएर, लजाएर करेसातिर भाग्थिन् । आमाले कहिले फकाएर, कहिले गाली गरेर बोलाउँथिन् ।
ब्रत पश्चाताप र खुसी मिश्रित भावमा भन्छिन्, ‘त्यतिबेला मैले आमाको दुःखलाई बुझ्दिनँथेँ । आमासँग निकै रिस उठ्थ्यो । आमाले मलाई के यस्तो दुःख दिएकी होलिन् जस्तो लाग्थ्यो । तर, अचेल लाग्छ, आमाले त्यसो नगरेको भए, आज मैले मेरो जीवनको धुन सारंगीलाई चिन्ने थिइनँ ।’
कैयाँै घरमा व्रतका आमाछोरी अपमानित पनि भए । तर, माग्नै आएको भन्ने सम्झेर भए पनि गाउँलेले केही अन्न–दाम दिन्थे । व्रत भन्छिन्, ‘मलाई सम्झना छ, आमालाई मानिसहरूले अनेक भन्थे— काखमा पनि छोरी छ, सानी छोरीलाई सारंगी बोकाएकी छ, यो त राम्रो चरित्र भएकी आइमाई होइन कि क्या हो ? कतिले त सोध्थे— काखकी छोरी त क्षत्री–बाहुनजस्ती छ त ! उनीहरूको शंका हुन्थ्यो, मेरी आमाले बाबुबिनै छोराछोरी जन्माउँदै हिँडेकी हुन् ।’
०००
ब्रत बाध्य भइन्, उनलाई सारंगी नसिकी नहुने भयो । त्यसपछि उनले गाउँका पुरुषहरूले बजाएको ध्यान दिएन हेर्न थालिन्, एकान्तमा बजाउने कोसिस गरिन् । तीन–चार महिना सकसले सारंगी बोकेर डुलेपछि अलिअलि गीतको धुन झिक्ने मेसो पाउन थालिन् । केही गीतमा बजाउन पनि जानिन्— जान्नँ म त विदेश लाहुर, साइँला वसन्त ऋतुले छाएछ आदिमा ।
ब्रत उज्यालो अनुहार लगाउँछिन्, ‘खोइ, कसरी–कसरी बजाउन सिकेँ । सारंगी छोएर, सारंगीको धुन सुनेरै हुर्केकी हुँ । सानैदेखि बुवाले बजाएको हेर्थें । पछि जानिनजानी रेट्दारेट्दै सारंगी बजाउन सिकेँ । मेरो भित्री मनमै थियो कि ? या, भगवान्ले सिकाए कि ?’
जब व्रत सारंगी बजाउन जानिन्, उनलाई घरघरमा बजाउन रमाइलो लाग्न थाल्यो । उनी सबैकी प्रिय बनिन् । जहाँ–जहाँ जान्थिन्, सुन्थिन्, ‘कति राम्रो बजाएको नानी ! अझ बजाउ त ।’
ब्रतले सारंगी रेट्न नजान्दासम्म गाउँगाउँतिरै बढी डुल्थे । किनभने, गाउँघरमा अलि दयालु मानिस हुन्छन् भन्ने ब्रतकी आमालाई थाहा थियो । हुन त बजारतिर जाँदा अलि बढी पैसा हुन्थ्यो, तर बजाउन जान्नुपथ्र्यो । ब्रत भन्छिन्, ‘गाउँमा पो सारंगी अलिअलि रेटेजस्तो गरेपछि माग्नै आएका हुन् भन्ने बुझेर केही दिन्थेँ । बजारमा त कसले सुन्थ्यो र ? त्यसैले हामी बजारतिर जाँदैनथ्यौँ । पछि मैले बजाउन जानेपछि बजारतिर पनि जान थाल्यौँ ।’
गाउँलेले अलि बढी पैसा र चामल दिन पनि थाले । ब्रतको परिवारले सुख पाउन थाल्यो । आमाको अनुहारमा उज्यालो छाउन थाल्यो ।
साहिँली छोरी पोइला गएपछि…
गन्धर्वहरू डुल्ने प्रिय थलो थियो— सिक्किम, दार्जिलिङ । व्रतका बुवा सिक्किमतिर गएका थिए । साथमा साहिँली छोरी पनि थिइन्, तरुनी भइसकेकी । भोजपुरकै एकजना परियार थरका युवक सिक्किमतिर बस्थे, साहिँली छोरी उनैसँग पोइला गइन् । आफूलाई केही नभनी छोरी भागेपछि ब्रतका बुवा विरक्तिए । उनी त्यसैत्यसै बहकिँदै सिक्किम दार्जिलिङदेखि पर पुगे, जहाँ–जहाँ नेपालीभाषी छन् । अनि, उनी दुई वर्षपछि मात्रै घर फर्के ।
अहिले व्रतका बुवा ७० लागे । ६० लागेदेखि नै उनले गाएर हिँड्न सकेनन् । अहिले बिरामी छन्, रुखबाट लडेर ढाडमा चोट लागेको छ, ब्रतले नै उपचार र स्याहार गर्दै छिन् ।
X
Related posts
No comments: