National News

[National News][stack]

म ‘इन्टरनेसनल’ भिखारी हुँ, पैसा कमाउने मेरो कुनै लक्ष्य छैन : योग गुरु रामदेव

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
मंसिर ९, २०७३- डेढ अर्ब रुपैयाँको लगानीमा प्रसौनी ९ मा स्थापना गरिएको पतञ्जली आयुर्वेद उद्योगको बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् । भारतीय योगगुरु रामदेवद्वारा डेढ वर्षअघि सुरु गरिएको उद्योगले औपचारिक रूपमा उत्पादन थालेको हो ।

‘देशमा भएका पर्याप्त जडीबुटीको उपयोग र त्यसमा लगानी भए आयुर्वेदको सम्बर्द्धन र प्रवर्द्धन हुन सक्छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘यसो भए उत्पादन, रोजगार, आयआर्जन, आर्थिकलगायत मानव स्वास्थ्यको क्षेत्रमा टेवा पुग्ने र नेपाललाई समृद्ध हुन मद्दत मिल्नेछ ।’ जैविक विविधताको संरक्षण, कृषि तथा आयात प्रतिस्थापनको दृष्टिकोणलेसमेत आयुर्वेद क्षेत्र महत्त्वपूर्ण भएकाले यसमा लगानी बढाएमा देश सम्बृद्धितर्फ जान सक्ने उनको भनाइ थियो ।


यो आयुर्वेद उद्योग नेपाल–भारतको प्रतीक छ, यसबाट नेपाल र भारतको अन्योनाश्रित सम्बन्ध पुष्टि हुन्छ,’ उनले भनिन्, ‘भारतीय राष्ट्रपतिको हालै नेपाल भ्रमणले पारस्परिक सहयोग मिलेको छ ।’

वीरगन्ज क्षेत्रमा यसबाहेक शैक्षिक विकासको समेत आवश्यकता खडकिएको उनले बताइन् । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले डेढ अर्बको लगानीमा पतञ्जली आयुर्वेद भारतको साझेदारीमा प्रसौनीस्थित पतञ्जली आयुर्वेद प्रालि नेपालको स्थापना गरेका हुन् । कार्यक्रममा बाबा रामदेवले दुनियाँमा नेपाल पतञ्जलीमार्फत समृद्ध बनोस् भन्ने आफ्नो चाहना रहेको बताए । ‘समृद्धिकै लागि उद्योग स्थापना गरिएको छ,’ उनले भने, ‘हाल काठमाडौंमा भएको आयुर्वेदको विश्वविद्यालय बनाउने आफ्नो चाहना छ । यसले नेपाललाई फाइदा हुन्छ ।’

नेपालका युवाहरू पलायन भइरहेकामा चिन्ता जनाउँदै रामदेवले यहीँकै कृषि तथा जडीबुटीमा युवाहरूको श्रम खर्च गराउने योजना रहेको बताए । आफू मेहनती भएकाले आफूसित रहेको दानकै १ हजार करोड सार्वजनिक हितमा लगानी गरेको उनले बताए ।

रामदेवले भने, ‘म ‘इन्टरनेसनल’ भिखारी हुँ, पैसा कमाउने मेरो कुनै लक्ष्य छैन । आफ्नो मेहनत नेपालको समृद्धिमा खर्चनेछु ।’ नेपाललाई जडीबुटीमा दुनियाँको सबभन्दा ठूलो ब्रान्ड बनाएर समृद्ध बनाउनेतर्फ आफू लागेको उनले बताए । उनले भने, ‘पहिला धेरै कम आउँथे । अब नेपालमा वर्षको एक–दुई पटक आउँछु ।’ आयुर्वेदज्ञाता आचार्य बालकृष्णले हिमाल, पहाड र तराईमा भएका सबै जडीबुटीका स्रोतलाई उचित प्रयोग गरी ‘विश्व आयुर्वेद रिसर्च सेन्टर’ बनाएर नेपालको विकास हुने बताए ।

कार्यक्रममा कृषिमन्त्री गौरीशंकर चौधरी, नेपालका लागि रुसी राजदूत आन्द्री बुन्दिक, भारतीय राजदूत रणजीत राय, पतञ्जली आयुर्वेद प्रालि नेपालका संस्थापक उपेन्द्र महतो, उद्योगका प्रबन्धक समता प्रसादले मुलुकको आर्थिक विकासका लागि आयुर्वेदमा लगानी आवश्यक भएको बताए । हाल उद्योगमा ५५ प्रकारका खाद्यान्न तथा कस्टमेटिक सामान उत्पादन भइरहेको उद्योगकी प्रबन्धक समताले बताइन् । उनले भनिन्, ‘नेपालमा धेरै जडीबुटी (कच्चा पदार्थ) को सम्भावना भए पनि अहिले भारतमै निर्भर हुनुपरेको छ । भविष्यमा नेपालका सबै प्रकारका जडीबुटीलाई जाँच गरी प्रयोग गर्नेछौं ।’

कृषि र उद्योगलाई जोडेर किसानलाई स्वावलम्बी तथा देशलाई समृद्ध बनाउने उद्देश्यले उद्योगमा प्रारम्भिक चरणमा डेढ अर्ब रुपैयाँ लगानी गरिएको उनले बताइन् । कार्यक्रममा राष्ट्रपति भण्डारीलाई उद्योगका तर्फबाट रामदेवले सम्मान गरेका थिए । यसैगरी आयुर्वेद क्षेत्रमा योगदान पुर्‍याएका चार जनालाई सम्मान गरिएको थियो ।

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]