आफ्नै पार्टीका नेतालाई अख्तियार लगाउन दबाब दिने एमाले नेताहरूको लोकमानले पोल खोलिदिने
Loading...
काठमाडौं, ११ पुस । अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता महाभियोग प्रस्ताव अहिले अलपत्र परेको छ । माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीलाई प्रस्तावक बन्न लगाएका एमालेका प्रमुख सचेतक भानुभक्त ढकालको समर्थनमा एक सय ५७ जनाको हस्ताक्षरसहित संसदमा दर्ता महाभियोग प्रस्ताव एमालेकै कारण अलपत्र परेको छ ।
एमालेले विगत एक महिनादेखि संविधान संशोधन प्रस्ताव दर्ताको विषयमा संसद् अवरोध गरिरहेको छ । जसले गर्दा महत्वपूर्ण विषयमा छलफल हुन सकेको छैन । सभामुख ओनसरी घर्तीमगरले कार्कीविरुद्धको महाभियोग प्रस्ताव संसद्को महाभियोग सिफारिस समितिमा पठाउने बताए पनि एमालेले अवरोध गर्दै आएको छ ।स्रोतका अनुसार एमालेले महाभियोग प्रस्ताव अलपत्र पार्नुको कारण भन्ने अर्कै छ । कार्कीविरुद्धको महाभियोग प्रस्ताव पास गरे एमाले नेताहरूको कर्तुत सार्वजनिक गरिदिने लोकमानले चेतावनी दिएको विषय अहिले चर्चामा छ ।
एमालेका थुपै्र प्रभावशाली नेताहरूले पार्टीमा आफ्नो उचाइ र हैसियत बढाउन प्रतिस्पर्धी नेताहरूलाई अकूत सम्पत्ति कमाएको नाममा अख्तियार प्रमुख आयुक्त कार्कीलाई टेलिफोनमार्फत छानबिन गर्न दबाब दिएका थिए । कार्कीले एमालेका सबै नेताहरूको फोन रेकर्ड ‘टेप’ गरेर राखेको र उपयुक्त समयमा सार्वजनिक गर्ने तयारीमा रहेको उनी निकट स्रोतले बतायो । एमालेभित्र ठूला नेता एकअर्कालाई मन पराउँदैनन् । जसमध्ये उपमहासचिव विष्णु पौडेल पनि एक हुन् । उनी सुवास नेम्वाङ र अग्नि खरेल अघि बढेको देख्न चाहँदैनन् । पार्टी अध्यक्ष केपी ओलीले आफूपछिको उत्तराधिकारीमा नेम्वाङ र त्यसपछि अग्नि खरेललाई अघि बढाइरहेका छन् ।
नेम्वाङ र खरेल दुवै कानुनी पेसाका हुन् । पछिल्लो समय उनीहरूको पार्टीमा हैसियत बढ्दै गएकाले विष्णु पौडेलले अख्तियारका निलम्बित प्रमुख आयुक्त कार्कीसँग नेम्वाङ र खरेलमाथि छानबिन गर्न फोनमार्फत कुराकानी गरेको र त्यसको प्रमाण कार्कीले सुरक्षित राखेको बताइन्छ । यसैगरी, एमाले अध्यक्ष ओलीले अकूत सम्पत्ति आर्जनमा कांग्रेसका केही प्रभावशाली नेताहरूलाई छानबिन गर्न कार्कीलाई दबाब दिएको चर्चा अहिले राजनीतिक वृत्तमा चलेको छ ।
ओलीकै दबाबअनुसार अख्तियारले कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, टेकबहादुर गुरुङलगायतका नेताहरूलाई सम्पत्ति आर्जनमा छानबिन अघि बढाएको जनाएको थियो । ओलीको आग्रहयुक्त यो टेलिफोन कार्कीले सुरक्षित राखेको र चाँडै आफूले सार्वजनिक गरिदिने चेतावनी दिएको बताइन्छ । अख्तियारले अकूत सम्पत्ति आर्जनमा कांग्रेस, एमाले, माओवादी केन्द्रका दर्जनौं नेताहरूलाई छानबिन अघि बढाएको छ ।
X
Related posts
No comments: