National News

[National News][stack]

‘प्लिज हेल्प मी, हेल्प मी, हेल्पी मी ।

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
काठमाडौं, पुस १५ – ‘प्लिज हेल्प मी, हेल्प मी, हेल्पी मी । आइ एम रमिता कार्की फ्रम नेपाल । आइ एम ट्रयाप्ड इन दिस हाउस नम्बर ५०० फिफ्टिन्थ फ्लोर्स अफ द बिल्डिङ । दिस बिल्डिङ नेम इज एमबी केल टावर इन मानमा हाइपर मार्केट । प्लिज हेल्प फर ए नेपाली ट्रयाप्ड लेडी । मालिया मारी इज माइ एजेन्ट । प्लिज हेल्प मी, हेल्प मी, हेल्प मी।’ lदुवइमा रहेको एमबी केल टावरको १५ औं तल्लाबाट गएको भदौंको पहिलो हप्ता एउटा कपडाको डल्लो भुईमा खस्यो । कुचो लगाउँदै गरेकी एक महिलाले त्यो कपडाको डल्ला फेला पारिन् । उनले कपडाको डल्लो खोलिन् । त्यहाँ भित्र एउटा कागज थियो । जहाँ पेनसिलले माथि अंग्रेजीमा उल्लेखित भनाई लेखिएको थियो । कुचो लगाउने महिलाको मन पग्लियो । त्यो पेनसिलले लेखिएको कागजको टुक्रो उनले प्रहरीलाई दिइन् ।

१३ वर्षको उमेरमा बिवाह गरिन् काठमाडौंकी रमिता कार्की नाम परिवर्तन ले । उनी अहिले २८ वर्षकी छिन् । उनका बुवाले संसार छाडिसके भने आमाको अनुहार कस्तो थियो उनलाई खासै थाहा छैन । हजुरआमा र काकाको स्याहारसुसारमा हुर्किन । र १३ वर्षको उमेरमै नेपालीका मूलका भारतीयसँग बिवाह गरिन् । उनलाई श्रीमानले पनि छोडेको चार वर्ष भइसक्यो ।

कमजोर आर्थिक अवस्था, खान लगाउन समस्या र ५ वर्षे छोरोको पढाई । उनलाई यही समस्याले पिरोल्यो । जागिरको सिलसिलमा उनका पैतलाले काठमाडौंका सबैजसो गल्ली चाहार्यो । तर हात लाग्यो शून्य । ‘काठमाडौंमा पाँच हजारको जागिर पाएको भएपनि म बिदेश जान्न थिएँ नि′ टलपलटलपल आँशुले भरिएका आँखा मिच्दै रमिताले भनिन् ।

काठमाडौंमा काम नपाएपछि उनी छोरा पढाउने र पाल्ने अभिलाषा लिएर कुवेत जान तयार भइन् । रमितालाई पासपोर्ट बनाइदिनेदेखि कुवेतसम्म बिना पैसा लगिदिन तयार भए राजकुमार खरेल । उनलाई साथ दिएका थिए पुरन सुब्बा, पूर्णबहादुर लिम्बु र हरिप्रसाद थारुले ।
सबै काम मिलिसकेपछि उनी गएको असार १९ गते विदेश जान भन्दै नेपाल छाडिन् । ‘कुवेत हिँडेको छु, पाँच वर्षको छोरो एक्लै छ, बुबाआमा कोही छैनन्, आँखा रसाउँथे । तैपनि मुटु दरो पारेँ’ स्वरमा हराएको चमक अरुले थाहा नपाउन् भने जसरी उनले भनिन् ।

उनलाई हरि थारुले असार २२ गते बेलुका दिल्ली पुर्याए । पवनको घरमा लगेर छोडे । ‘खाउ है बैनी चिन्ता नगर’ भन्दै हरि नेपाल फर्किए । रमितालाई दिल्ली पुर्याएपछि हरिले १५ हजार रुपैयाँ दाम पाए । उनले आफ्नो काम फत्ते गरेर नेपाल फर्किए । रमिताको १२ दिनसम्म दिल्लीमा बास भयो । थर थाहा नभएका राकेशले श्रीलंकाको पासपोर्ट लिएर आए र रमितालाई श्रीलंका पठाइयो ।

श्रीलंका पुगेको केही दिनमा रमितालाई कुवेत पठाइयो । ‘योर पुलिस रिपोर्ट इज रङ । यु मस्ट रिटर्न इन श्रीलंका’ कुवेत एयरपोर्टमा पाइला टेक्ने बित्तिकै कुवेत प्रहरीले उनलाई यसो भन्दै श्रीलंका फर्काइदियो । अब भने रमितालाई थाहा भइसकेको थियो म ठगिए । श्रीलंकामा रहेका मोहन र जमिर एजेन्टसँग उनी बाझिन । तर उनको केही लागेन । तिमीलाई अब दुवई पठाउँछौ भन्दै त्यसको १० दिनपछि रमितालाई दुवई पठाइयो ।

दुवई पुगेपछि भने रमिताको सपनाले एक सय असी डिग्रीको फन्को मार्यो । धन कमाउने र छोरो पढाउने उनको सपना सपनामै सीमित हुन लाग्यो । मानमा हाइपर मार्केटको ५०५ नम्बरको बिल्डिङको १५ औं तलामा लगेर उनलाई थुनियो । ‘म लगायत ५० जना भन्दा बढी महिलालाई त्यहाँ बन्धक बनाइएको थियो, कुटपिट हुन्थ्यो, यौन दुव्र्यवहार हुन्थ्यो, मोलमोलाई हुन्थ्यो, गाईवस्तु किनेजस्तो थियो’ आफ्नो विगत सम्झिन रमिताले ।

कसरी उम्कने, फोनसमेत राख्न दिएको छैन । ताला लगाएर राखेको छ खाटामुनि एउटा सानो पेनसिलको टुक्रा भेटिन् रमिताले । त्यो पेनसिल कयौंले देखेका थिए होलान तर कसैले त्यसको महत्व बुझेनन् । पर्समा भएको एउटा कागजको टुक्रा निकालिन रमिताले । र लेखिन् माथि अंग्रेजीमा उल्लेख गरिएको भनाई, प्लिज हेल्प मी, हेल्प मी, हेल्प मी ।

तन्ना च्यातिन र कागजको टुक्रा पोको पारेर झ्यालबाट खसालिन् । कागजको टुक्रा झाडु लगाउने महिलालले भेटिन् र प्रहरीलाई दिइन् । ‘प्रहरीले यसबारे एजेन्टसँग बुझेछ, त्यसपछि म माथि कुटपिट भयो । लुगा फुकालेर नाङ्गो फोटा खिचियो र नेटमा हाल्दिन्छु, तँ बाठो हुने भन्दै उनलाई कुटपिट भयो ।

त्यसपछि उनलाई दुवईबाट आमोन लगियो । ओमानको अलगु्रफफ भन्ने हाउसमेडको अफिसमा उनलाई लगियो । ‘त्यसको केही घण्टामा एक जना मालिक आए । हामी ७,८ जना केटीलाई लाइन लगाइयो । त्यो मालिकले कालिड भन्ने अरबिकलाई दुई हजार रियाल दियो । त्यसपछि मालिकले मेरो हात तान्यो, पशुलाई दाम्लाले डोर्याएजस्तो मेरा हात समाएर मालिक मलाइ उसको घर लग्’ यहाँ भन्दा बढी बोल्न सकिनन् रमिता । उनी घोसे मुन्टो लागिन् ।

कोठीमा नपुगे पनि यसको घरमा रखेल बन्न जाने भएँ भन्ने भइसकेको थियो उनलाई । त्यसपछि रमिताले मालिकको घरमा काम गर्न थालिन् । उनी कामले लखतरान हुन्थिन् । यसरी उनले मालिकको घरमा काम गर्न थालेको ११ दिन भइसकेको थियो ।‘त्यसपछि मलाई मालिकले तँलाई गर्मी भयो भन्दै पसिना पुछिदिन थाल्यो, धाप मार्न थाल्यो, जिउ कन्याउन थाल्यो । म मान्दिन थिएँ तर उसले जबरजस्ती गथ्र्यो । यसो गरेको केही दिनपछि तँ धेरै राम्री छेस्, तेरो ओठ कति राम्रो, आँखा कति राम्रो, गाला कति राम्रो म तँलाई मन पराउँछु भन्दै आइ लब यु भन्दै यौन दुव्यवहार गर्न खोज्यो’ उनले पीडा सुनाइन् । बाघको पञ्जाबाट मृगलाई उम्कन जति गाह्रो हुन्छ त्यो भन्दा बढी गाह्रो रमितालाई हुन थाल्यो । मालिकको प्रस्ताव उनले मानिनन् ।

त्यसपछि उनको शरीरमा स्प्रिड बर्सियो, बुटका जब्बर छाप बर्र्सिए, कुटपिट सामान्य हुन थाल्यो । राम्रो शब्द उनका लागि शब्दकोषमा थिएन । केही दिनअघि मात्र त्यही घरमा मालिकका दुई जना छोराले एक नेपाली महिलालाई बलात्कार गरेपछि उनले फ्यानमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । रमितालाई आत्महत्या गर्ने सोच आयो ।

‘कोठामा सुते राति मालिक आउँथ्यो । कोठमा भित्रबाट चुकुल लगाउने ठाउँ थिएन । राति आफ्नो ओच्छ्यान कस्तो हुन्छ मलाई थाहा भएन ।म बाथरुममै रात बिताउँथे । विष भए पनि खाएर मर्थे भन्ने सोच पनि आयो । म रुँदै बहिनीसँग च्याट गर्थे’ बेदनाले भरिएको मनको बह धक नमानी पोखिन् रमिताले भनिन् । ‘नरोउ दिदी म तिमीलाई जसरी पनि नेपाल फर्काएर छाड्छु ।’ बहिनीको यो बचनले उनको मन केही हलुको हुन्थ्यो ।

यसरी रुँदै बाथरुममा सात रात बिताइन् रमिताले । त्यो घरमा काम नगर्ने भन्दै उनी रुँदै पागल जस्तै बनिन् । त्यसपछि उनलाई हाउसमेडको अफिस लगियो । जहाँ ६० जना महिलालाई बन्धक बनाएर राखिएको थियो । कोही रखेल राख्न वा यौन पेशामा संलग्न गराउन चाहन्छन् र त्यहाँ गइ मोलमोलाई गर्दै किनबेच हुन्थयो ।

रमिताले बरु मर्ने तर यस्तो काम नगर्ने भन्दै चक्कुले आफ्नो दाहिने हात काटिन् । ‘यि हेर्नुस् अझैपनि घाउ छ’ आफ्नो दाहिने हातको सर्टको बाहुला सार्दै काटिएको घाउको खत देखाइन् रमिताले ।यता बहिनी अठोट गरेकी थिइन् ‘म तँलाई जसरी भएपनि नेपाल फिर्ता गर्छु दिदी नरो ।’‘मेरो दिदीलाई कामको लोभ देखाई ओमान पुर्याइयो । दिदी अहिले त्यहाँ कष्टपूर्ण तरिकाले बस्नु भएको छ । उहाँलाई शारीरिक, मानसिक यातना दिनुका साथै यौन शोषण पनि गरिएको छ । तत्काल मेरो दिदीको उद्धार गरी नेपाल झिकाइ पाउँ ।’ बहिनी रबिना कार्कीले सिआइबीमा उजुरी हालिन् ।

सिआइबीले उनलाई विदेश पठाउने राजकुमार खरेललगायत पूर्णबहादुर लिम्बु र हरिप्रसाद थारुलाई पक्राउ गर्यो । आफ्नो भाइ राजकुमार पक्राउ गरेको थाहा पाएपछि कुवेतमा रहेकी मिना खरेलले ओमानको हाउसमेड कम्पनीलाई पैसा पठाइन् र रमिता मंसिर १७ गते नेपाल फिर्ता भइन् । स्मरण रहोस् राजकुमारका दिदी मिना खरेलले कुवेतबाट भिसा पठाउँदै नेपालबाट यसरी केटी बेच्ने गरेका थिए ।

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]